Monday, June 15, 2015

धर्मशालामा नेपालको दोस्रो जित



३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार भएको खेलमा नेपालले हिमाञ्चल प्रदेशको टीमलाई ६१ रनले पराजित गरेको छ । यससँगै नेपालले सिरिजमा २-० को अग्रता लिएको छ ।

धर्मशाला स्टेडियममा टस हारेर पहिले ब्याटिको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो । नेपालको सुरुवात राम्रो हुन सकेन । नेपालको स्कोर ९ रन हुँदा ओपनर सुवास खकुरेल व्यक्तिगत पाँच रनमा आउट भए भने थप ८ रन जोड्दा अर्का ओपनर सागर पुन ४ रनमा पभेलियन फर्किए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले क्रिजमा टिकेर खेलिरहे पनि उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । कप्तान पारस खड्का र विनोद भण्डारी समान १-१ रनमै आउट भए ।

शरद भेसवाकर ११ रनमा आउट भए । प्रदिप ऐरी शून्यमा नै आउट भएपछि नेपालको स्कोर ६ विकेटको क्षतिमा मात्र ४७ रन थियो ।

तर, आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले ज्ञानेन्द्रलाई साथ दिने प्रयास गरे । सातौं विकेटका लागि ज्ञानेन्द्र र सोमपालले ३८ रनको साझेदारी गरे । यस्तै ज्ञानेन्द्रले शक्ति गौतनसँग ३७ रनको अविजित साझेदारी गरे ।

ज्ञानेन्द्र ५२ रनमा अविजिति रहे । ४७ बलको सामना गरेका उनले २ चौका र १ छक्का हाने । शक्ति ९ रनमा अविजित रहे ।

हिमाञ्चल प्रदेशका गुरुविन्दर सिंहले २ विकेट लिए भने राघव धवन र आकाश शर्माले समान १-१ विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको हिमाञ्चल प्रदेश १४.३ ओभरमा ६१ रन जोड्दा अलआउट भयो । नेपाली बलरहरू चम्किएपछि हिमाञ्चल प्रदेशका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । उसका लागि सुमित बर्माले १८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हिमाञ्चल प्रदेशको टीमलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । जितेन्द्र मुखियाले २ ओभरमा ९ रन दिएर २ तथा शक्ति गौचनले २.३ ओभरमा ८ रन दिएर २ विकेट हात पारे ।

करण केसीले एक विकेट लिए । ३ ओभर बलिङ गरेका उनले मात्र ९ रन दिए । विकेट नलिएपछि सागर पुनले किफायती बलिङ गरे । १ ओभर बलिङ गरेका उनले मात्र २ रन दिए ।